काठमाडौं । भारतको नम्बर–१ दुई पाङ्ग्रे ब्रान्डका रुपमा रहँदै आएको हिरोको स्थान खच्किएको छ । हिरोको बिक्रीलाई पछि पार्दै होन्डाले नम्बर–१ दुई पाङ्ग्रेका रूपमा आफूलाई स्थापित गराएको हो ।
गत जुलाईमा हासिल भएको बिक्रीका आधारमा हिरोलाई पछि पार्दै होन्डा नम्बर–१ दुई पाङ्ग्रे ब्रान्ड बनेको छ । जुलाई महिनामा हिरोले भन्दा १ लाख १३ हजार युनिट धेरै मोटरसाइकल तथा स्कुटर होन्डाले बिक्री गरेको तथ्यांकले देखाउँछ । यो बिक्री संख्यामा स्थानीय बजार र निर्यातको तथ्यांक पनि समावेश गरिएको छ ।
उक्त महिना होन्डाले ४ लाख ८३ हजार युनिट मोटरसाइकल तथा स्कुटर बिक्री गर्दा हिरोले जम्मा ३ लाख ७० हजार युनिटमात्र बिक्री गरेको छ । होन्डाको कुल बिक्रीमा ९१ प्रतिशत हिस्सा स्थानीय बजारले लिएको छ भने ९ प्रतिशत निर्यात भएको हो ।
यसैगरी हिरोले बिक्री गरेको ३ लाख ७० हजार मोटरसाइकल र स्कुटरमध्ये ९४ प्रतिशत स्थानीय बजारले र ६ प्रतिशत निर्यातले ओगटेको छ । यी दुवै ब्रान्डको बिक्री गत जुन महिनाको तुलनामा घटेको छ । जसअनुसार होन्डाले स्थानीय बजारमा हाँसिल गरेको बिक्री ९ प्रतिशतले कम हुँदा निर्यात भने २१ प्रतिशतले बढाएको छ । हिरोको भने स्थानीय बजारमा निकै ठूलो गिरावट आउँदा निर्यात भने उच्च दरले बृद्धि भएको छ ।
गत जुन महिनाको तुलनामा हिरोले स्थानीय बजारमा २९ प्रतिशतले बजार गुमाउँदा निर्यातमा भने ८९ प्रतिशतले सुधार गरेको हो । होन्डाको बिक्रीमा ठूलो हिस्सा स्कुटरले ओगट्दा हिरोमा भने मोटरसाइकलको योगदान निकै उच्च छ ।