एमालेबाट निर्वाचित सूर्यबहादुर कुँवरले सहकारीको बचत अपचलन गरी खर्च गरेको छानबिन प्रतिवेदनको निष्कर्ष
सहकारीको बचत अपचलन अभियोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतको अनुमतिमा सोमबार पक्राउ पूर्जी जारी गरेको हो । बाँडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको विरुवास्थित सेवा केन्द्रबाट बचतकर्ताको रकम अपचलनमा उनी मुछिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी शालिकराम शर्माले सहकारी ठगी मुद्दामा अनुसन्धानको क्रममा कुँवरविरुद्ध पक्राउ पूर्जी जारी भएको बताए । तत्कालीन समयमा कुँवर सचिव रहेको अवस्थामा बचत हिनामिना भएको पाइएपछि अनुसन्धानको दायरामा ल्याउन पक्राउ पूर्जी जारी गरिएको उनले बताए ।
बचत अपचलनको निवेदन परेपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले सूर्योदय सहकारीको वित्तीय छानबिन प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा कुँवरले बचत अपचलन गरी एमालेनिकट प्रदेश सांसदलाई रकम दिएको र स्वयंमले समेत निर्वाचनमा खर्च गरेको भेटिएको छ ।
सूर्योदय सहकारी र विरुवाको जनजागृति बहुउद्देश्यी सहकारी संस्थाबीच ०७४ मा एकीकरण भएको थियो । एकीकरण अघि जनजागृति सहकारीको सचिव रहेका उनी त्यसपछि सूर्योदयको विरुवा सेवा केन्द्र व्यवस्थापन उपसमितिका सचिव नै भए । सहकारीमा उनले झण्डै १० वर्ष बिताए । छानबिनका क्रममा विरुवा सेवा केन्द्रबाट ३ करोड ६६ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ ।
सहकारी रजिस्ट्रारको छानबिनका प्रतिवेदन तयार गरेपछि जिल्ला प्रहरी कार्यालयले बचतकर्तालाई जाहेरी दिन आह्वान गरेको थियो । सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै बचतकर्ता ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिए । अनुसन्धानका क्रममा प्रहरीले साउन ११ मा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गर्यो । वाग्लेले नै बचत अपचलनमा गाउँपालिका अध्यक्ष कुँवरको समेत संलग्नता रहेको प्रहरीलाई बयान दिएका थिए ।
गाउँपालिका अध्यक्ष कुँवरले सहकारीका विरुवा सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक तारेन्द्रबहादुर केसीको मुख्य योजनामा सेवा केन्द्र प्रमुख जीवन वाग्लेसहितको मिलेमतोमा बचत अपचलन गरेको अनुसन्धानका क्रममा देखिएको छ । स्याङ्जा प्रहरीले मंगलबार विरुवा गाउँपालिका–८ कार्कीडाँडाका ५८ वर्षीय केसी र मुक्तिनाथ विकास बैंक विरुवा गाउँपालिका शाखाकी कर्मचारी स्याङ्जा पुतलीबजार नगरपालिका–१४ लामागेकी २१ वर्षीया सन्ध्या भण्डारीलाई पक्राउ गरेको छ ।
पक्राउ पूर्जी जारी भएपछि गाउँपालिका अध्यक्ष कुँवर फरार छन् । उनको मोबाइल ‘स्वीच्ड अफ’ छ । स्याङ्जा प्रहरीको तर्फबाट प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले सहकारी ठगी मुद्दाको अनुसन्धान गरिरहेका छन् । कांग्रेसका डोलराज पोखरेललाई हराएर एमालेका कुँवर गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।






























