काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरूले गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको र हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरूले गर्ने बताए । राज्य व्यवस्था समितिमा विधेयकबारे छलफल जारी छ । समितिमा र संसद् बैठकमा सांसदहरूले हदम्याद राख्न नहुने आवाज उठाइरहेका बेला सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले भने, ‘संसदमा छलफल चलिरहेको छ, तपाईंहरुलाई थाहा होला । संसदमा छलफल हुन्छ, संसद्ले निर्णय गर्छ । मान्यज्यूहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ ।’
प्रधानमन्त्री ओलीले समिति बैठकपछि संसदमा पनि छलफल गर्ने र संसद्को निर्णयअनुसार विधेयक अघि बढ्ने बताए ।
































