जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ। केहीले पढाइ हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरूले त्यहाँ चिकित्सकको कस्तो पढाइ हुन्छ होला ? भनेर खिसी गरेको पाइन्छ । ती प्रश्न एवं जिज्ञासा गर्नेहरूले जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको चिकित्सक उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन ।
प्रगति र विकासका लागि भूगोल बाधक हुन सक्दैन अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको इँटा थप्न सक्दोरहेछ भन्ने गतिलो उदाहरण स्वरूप अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्यविज्ञ जनशक्ति पठाउँदैछ ।
मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रूपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न संकायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरू दीक्षित गर्दैछ । यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । जसको तयारीमा प्रतिष्ठान जुटेको छ ।
दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको समुपस्थिति कार्यक्रम रहेको उपकुलपति डा.मंगल रावलले जानकारी दिए ।
स्थापनाकालको १३ वर्षपछि पहिलोपटक हुन थालेको दीक्षान्त समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आइसकेकाले त्यसको तयारीमा जुटेको उनले बताए ।
उनका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र संकायका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुनका लागि योग्य छन् ।
उपकुलपति रावलले भने, “प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपतिसमक्ष पत्र पठाएका थियौँ । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार बिहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोही अनुसार तयारी गर्दैछौँ ।”
कर्णालीको इतिहासमा पहिलोपटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुसी लागेको उनले बताए । प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बीएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँचजनासहित कूल ५६ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।
सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा अञ्जनी झा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइत, विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ ।