पोखरा – तनहुँमा झन्डै तीन सय डेंगीको संक्रमित थपिएका छन्। भदौ ४ देखि ९ गतेसम्म हप्ता दिनको अवधिमा तनहुँमा २९६ संक्रमित थपिएका हुन्।
पछिल्लो तथ्याङक अनुसार जिल्लाभर १ हजार ५७७ जनालाई डेंगी पोजेटिभ पुष्टि भएको छ। अघिल्लो साता १ हजार २८१ संक्रमित थिए। तनहुँमा देशभरमा सबैभन्दा बढी संक्रमित छन्।
यो अवधिमा सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा २०४ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँकी पब्लिक हेल्थ पुजा कुवँरले जानकारी दिइन्।
पछिल्लो समय २०४ जना संक्रमित थपिएसँगै आँबुखैरेनीमा संक्रमितको संख्या १ हजार १५१ पुगेको छ।
त्यसपछि व्यास नगरपालिकामा धेरै संक्रमति थपिएको कुवँरले बताइन्। व्यासमा ३९ जना थपिदा संक्रमितको संख्या १३७ पुगेको हो।
शुक्लागण्डकी नगरपालिकामा २० जना संक्रमति बढेर १७८ पुगेको छ। जिल्लाका १० स्थानीय तहमध्य घिरिङबाहेकका सबै स्थानीय तहमा डेंगी फैलिरहेको छ ।
बन्दीपूर गाउँपालिकामा ८९, म्याग्दे गाउँपालिकामा ११, भानु नगरपालिकामा ९, भीमाद नगरपालिकामा ६, ऋषिङ र देवघाट गाउँपालिकामा ३/३ जनामा संक्रमित भएका छन्।
गतवर्ष तनहुँका ७ हजार २२७ जनालाई डेंगीको संक्रमण पुष्टी भएको थियो।
एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगीको संक्रमण हुने गर्छ। एडिज प्रजातीको लाममुट्टेलाई हुर्किएर वयस्क हुनै नदिन लार्भामै नष्ट गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय तनहुँकी जनस्वास्थ्य अधिकृत विद्या तामाङले बताइन्।
डेंगी संक्रमणलाई कम गर्न लामुट्टेको लार्भा खोज र नष्ट अभियान चलाइरहेको उनको भनाइ छ। यस्तै पानी जम्न नदिनलाई सचेतनाकार्यक्रम गरेको तामाङले बताइन्। तर, संक्रमितको गतिविधि बढ्दा पनि झनै फैलिरहेको उनको गुनासो छ।































