दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ। गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यान्चोक लघुउद्यम महिला संघले ३५ रोपनी क्षेत्रफलमा सयपत्रीका बिरुवा रोपेको हो।
सयपत्री फूलखेतीबाट महिला किसान उत्साहित भएको भन्दै यसवर्ष पनि सयपत्री फूलखेतीलाई निरन्तरता दिइएको केसीले बताए। उनका अनुसार गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो।
गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार रोपेको तीन महिनामा फूल तयार हुन्छ। गतवर्ष तिहारमा प्रतिकिलो पाँचसय रूपैयाँसम्म फूल बिक्री भएको थियो। यान्चोक लघुउद्यम महिला संघमा आबद्ध ७० महिलाले सयपत्रीका बिरुवा रोपेको संघकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिए।
महिला फूलखेतीमा आकर्षित रहेको बताउँदै उनले भने, ‘चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ, पालिकाबाट पनि हामीलाई सहयोग भएको छ।’ घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उनको भनाइ छ।































