बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता

कास्की – गण्डकी प्रदेशमा क्रियाशील रहेका विभिन्न यातायात समितिहरुले दसैँ तिहार लगायतका चाडपर्वमा यात्रुहरूसँग नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका छन् । व्यवसायीले चाडपर्वको समयमा तोकिएको भन्दा बढी भाडा नलिने सहमत भएका हुन् ।

प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाबीचको बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट सङ्ख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न÷गराउनेसहित चाडपर्व केन्द्रित छ वटा निर्णय गरेको छ ।

उनका अनुसार विमानस्थलमा ट्याक्सीले बढी भाडा लिने गुनासोबारे ट्राफिक प्रहरी खटिएरै अनुगमन गर्ने निर्णय भएको छ । उनले भने, “विमानस्थलमा ट्याक्सीले धेरै भाडा लिएको गुनासो धेरै छन् । त्यहाँ ट्राफिक प्रहरी खटेर त्यसको अनुगमन गर्नुहुन्छ । चाडपर्वको बहानामा दुःख दिने काम राम्रो होइन । यो समयमा यातायात सेवालाई सहज बनाउनु सरकार मात्र होइन व्यवसायीको पनि दायित्व हो ।”

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख एवं प्रहरी उपरीक्षक जनकबहादुर शाहीले लामो दुरीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने बताए। “आफूहरुले चालक राखेरनराखेको विषय कडाइका साथ अनुगमन गर्नेछौँ । लामो दुरीमा निस्कनुअघि आफ्ना सवारीमा अनिवार्य यान्त्रिक परीक्षण आवश्यक हुन्छ,” शाहीले भने । सवारीले बढी भाडा लिएर दुःख दिएमा १०३ वा १०० मा फोन गर्न सर्वसाधारणलाई आग्रह गरे ।