सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ । उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै आज हेलिकप्टरले एक सय ५२ तथा जहाजले २३ वटा उडान भरेका हुन् । जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२-१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए । आज हवाई सेवाबाट मात्रै तीन सय ९६ जना विदेशी र एक सय ३६ जना नेपाली गरी कूल पाँच सय ३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
































