अलैँचीको मुख्य सिजनमा भाउ राम्रो आएपछि किसान उत्साहित छन्।उत्पादन राम्रो, सिजनमै भाउ पनि उच्च हुँदा किसान अलैँचीबाट राम्रो आम्दानी लिने तयारीमा छन्।
अहिले इलामका बजारमा अलैँचीको भाउ प्रतिमन (४० किलो) ९२ हजारदेखि ९८ हजार रुपैयाँसम्म छ । इलाम उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले पुच्छर काटेको ठुलो दानालाई गुणस्तरीय मान्ने गरिएको बताए। ‘अचेल अलैँचीको गुणस्तर हेरेर मूल्य दिन थालिएको छ,’ उनले भने, ‘राम्रो अलैँचीको राम्रो भाउ छ।’
उनले २०७९ सालमा प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको अहिले भाउ ०८० सालमा ६० हजार थियो। ‘हुन त १० वर्षअघि नै अलैँचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेकामा केही वर्ष निकै घटेको थियो,’ उनले भने, ‘अहिले फेरि भाउ आएपछि किसान उत्साही छन्।’ अलैँची व्यवसायी संघ समेतमा आबद्ध व्यापारी पौडेलले अलैँची खेतीको क्षेत्र बढेको तर उत्पादकत्व घट पनि किसानले पाउने मूल्य राम्रो रहेको जनाए।
































