मध्य भोटेकोशीको सुरुङमा पानी भर्न सुरु

सिन्धुपाल्चोक — निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको ७ किमि सुरुङमा पानी भरेर दोस्रो पटक परीक्षण सुरु गरिएको छ । २०८० साल पुसको अन्तिम साता विद्युत उत्पादनका लागि ‘वेट टेष्टिङ’ को क्रममा सुरुङ फुटेर पानी चुहिएका कारण परीक्षण रोकिएको थियो ।

सोही निर्माण कम्पनीले नै चुहिएको सुरुङ मर्मत गरेर झण्डै १० महिनापछि पुनः पानी भरेर वेट टेष्टिङ सुरु गरिएको हो ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रामगोपाल सिवाकोटीका अनुसार शुक्रबार मध्यान्हबाट आगामी मंसिर १८ गतेसम्म पानी भरेर सुरुङको परीक्षण जारी राखिनेछ ।

यस अवधिमा आयोजनाको संरचना बाँध, इन्टेक, गेट, डिस्याण्डर, स्टपलग, सुरुङलगायतका हेडवर्क्सको परीक्षण गरेर उत्पादनको तयारी गरिने उनले बताए । ‘ट्रान्समिसन लाइनको समयमै निर्माण भएमा एक महिनाभित्रमा बिजुली उत्पादनको परीक्षण गर्न सक्छौं,’ सिवाकोटीले भने ।

चिलिमे जलविद्युत कम्पनी मुख्य प्रवर्द्धक रहेकोसुरुङलगायत आयोजनाको ‘सिभिल वर्क’को निर्माण चीनको ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले गरेको थियो । आयोजनाले सुरुङमा पानी पठाएपछि आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन सार्वजनिक अपिल गरेको छ ।

आयोजनाले भोटेकोशी गाउँपालिकाको वडा नम्बर १ र ५ तथा बाह्रबिसे नगरपालिकाको ३, ५, ६, ७ र ८ मा पर्ने भोटेकोशी नदीको चाकु बजारदेखि तल्लो तटीय क्षेत्र नयाँपुल, बसेरी, सानो बसेरी, बोर्डरल्याण्ड, बसेरी, जम्बु, शिरिसे, खागदल, खोर्सानीबारी, बाह्रबिसे बजार, राम्चे बजार, पेरिसडाँडा, जुरे तथा सुनकोशी ड्यामसम्मका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

सुरुङमा एकै पटक पानी पठाउँदा आउने सक्ने समस्याबाट प्रभावित नहुन भन्नका लागि स्थानीयलाई सतर्क हुन आग्रह गरिएको सिइओ सिवाकोटीले जानकारी दिए ।

२०६८ सालमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको भोटेकोशी कम्पनीले झण्डै १२ वर्षपछि विद्युत उत्पादनको तयारी गरेको हो । सुरुमा चार वर्षमा पूरा गर्ने लक्ष्य राखेर सुरु गरेको आयोजनामा चिलिमे, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष, स्थानीय लगानीकर्ता कम्पनीको मुख्य लगानी रहेको छ ।

आयोजनाले सर्वसाधारण र प्रभावितका लागि पनि सेयर जारी गरेर रकम संकलन गरिसकेको छ । बाढीपहिरो, भूकम्प, राजनीतिक दलहरुको अनुचित हस्तक्षेप, कोभिड र आयोजनाको आन्तरिक व्यवस्थापनको कमजोरीको कारण निर्माणमा ढिलाई भएको हो । निर्माण अवधि बढेका कारण सुरुमा १२ अर्ब २८ करोड अनुमान गरेकोमा अहिले लागत बढ्दै गएर २० अर्ब नाघेको छ ।

यस अवधिमा भोटेकोशीले ५ अर्ब भन्दा बढी साँवाको ब्याज मात्र बुझाइसकेको छ । लागत बढेका कारण प्रति मेगावाट उत्पादन लागत २० करोड नाग्ने अनुमान रहेको छ ।