सहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन

झापा । नेपाली कांग्रेसको ‘युवा सङ्कल्प यात्रा’ का संयोजक भूपेन्द्रजङ्ग शाहीले सहकारी ठगी घटनाका आरोपी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितको बचत फिर्ताको वातावरण बनाउन माग गरेका छन् ।

काँकडभिट्टाबाट शुक्रबार यात्राको सुरुआत गर्दै नेपाल तरुण दलका पूर्वकेन्द्रीय महासचिव शाहीले सहकारीको बचत अपचलनमा संलग्नलाई पार्टीले जोगाउन आवश्यक नरहेको बताए ।

“हामी सरकारलाई जोडदार आग्रह गर्दछौँ”, उनले भने, “सहकारीको बचत दुरुपयोग गर्ने व्यक्ति जुनसुकै पार्टीको भए पनि कानुनी कारबाही गरिनुपर्छ ।” सहकारी ठगीका कारण पीडित भएकाको बचत रकम फिर्ताको वातावरण सरकारले नै बनाउनुपर्ने उनको जोड थियो । आगामी मंसिर ४ गते महेन्द्रनगरमा यात्रा समापन हुने बताइएको छ ।

भ्रष्टाचार उन्मूलन, सहकारी ठगीमाथि कारबाही, सहकारी पीडितको बचत फिर्तालगायत १० बुँदे मागलाई यात्राको मूल ध्येय मानिएको छ । यात्रामा सांस्कृतिक टोली समेत रहेको छ । यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै महेन्द्रनगर पुग्ने यात्रा संयोजक शाहीले बताए ।