बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवालाई विदेश जानबाट रोक्न प्रदेश सरकारले गुणस्तरीय शिक्षासहित रोजगारका अवसर खोजी गर्न थालेको बताएका छन् ।
नुवाकोट उद्योग वाणिज्य सङ्घको आज बट्टारमा आयोजित १९औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री तामाङले गुणस्तरीय शिक्षाले रोजगारी दिने भन्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखी काम थालिएको उल्लेख गरे ।
उनले विदेश जाने युवालाई रोक्न सरकारले सीप विकाससम्बन्धी योजना बनाइरहेको, रोजगारका अवसर खोजी गरिरहेको र विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए । केही नीति तथा कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ छ ।
वैदेशिक रोजगार र उच्च शिक्षाको बहानामा युवाहरू विदेश जाने क्रमले गाउँका घरहरू रित्तिएको भन्दै यस समस्यालाई प्रदेश सरकारले गम्भीर रूपमा लिएर समाधान खोजिरहेको मुख्यमन्त्री तामाङले उल्लेख गरे ।
































