माघे संक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ । माघे संक्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, मुलघाट, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौविसे र साँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्ने कौशीका धाममा पवित्र जलमा स्नान गरे छालासम्बन्धी रोग निको हुने विश्वास छ ।
यस्तै, त्रिवेणीमा नुहाएर हंसमोरङमा रहेको शिवालयमा दर्शन गरे रोगब्याधबाट मुक्ति, सुख शान्ति, समृद्धिका साथै मनोकाक्षा पूरा हुने विश्वास रहेको छ ।
यस्तै, धनकुटाको भीरगाउँमा रहेको मधुगंगा र बाघेखोलामा रहेको धर्मगंगामा मकर नुहाउन बिहानैदेखि भक्तजनको घुइचो लागेको छ । यी ठाउँमा मकर नुहाउँदा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । यस्तै मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ ।































