नुवाकोटकामा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति

माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ।

माघेसङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो।

तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गरे। यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको हो।

गोरु जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उनले प्रतिबद्धता जनाए।

गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान) लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। जुधाईमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाईको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए।

गोरु जुधाई प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ।