नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा गलत गर्ने जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानले आज आयोजना गरेको प्रतिमा अनावरण कार्यक्रममा महामन्त्री थापाले गलत गर्ने व्यक्ति जति नै शक्तिशाली भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । देशमा विधिको शासन कायम हुनुपर्ने तथा सबै क्षेत्रमा सुशासन कायम हुनुपर्नेमा जोड दिँदै उनले भने, “प्रत्येक दिन एउटा नयाँ काण्डका बारेमा चर्चा बाहिर आउँछ । जस्तोसुकै काण्ड आए पनि विधिको शासन हुनुपर्छ, खराब गर्ने मान्छे, गलत गर्ने मान्छे जुनसुकै जाति, धर्म र पार्टीको भए पनि कारबाही हुनुपर्छ । राष्ट्रपतिले गल्ती गरे पनि प्रधानमन्त्रीले गल्ती गरे पनि दण्ड पाउनुपर्छ । कानुनभन्दा माथि कोही छैन ।”
महामन्त्री थापाले गलत काण्ड गर्नेलाई यो वा त्यो बहानामा छोडिनु हुँदैन भन्दै यसो गरेमा मात्र विधिको शासन आउने, सुशासन कायम हुने तथा जनतामा विश्वास जाग्ने बताए ।
कांग्रेसले यतिखेर २०८४ भनेर होइन, काम गरेर देखाउनुपर्ने महामन्त्री थापाले बताए। देश चलाउनेले अब जनताको आयस्तर कसरी उकास्ने र देशभरका बेरोजगारलाई रोजगार कसरी दिने भनेर लाग्नुपर्ने उनको भनाइ थियो ।
































