सामाजिक सञ्जाल विधेयकको समर्थन गर्न सक्दिनँ: काङ्ग्रेस महामन्त्री शर्मा

काठमाडौं । सत्ताधारी नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमन विधेयक २०८१ लाई समर्थन गर्न नसकिने बताएका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले विधेयक अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत भएको भन्दै समर्थन गर्न नसकिने बताएका हुन् ।

आफ्नो पार्टी सत्तामा नहुँदा २०७७ मा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकको चर्को आलोचना गर्नेमा विश्वप्रकाश शर्मा पनि एक थिए ।

“त्यो बेलामा विश्वप्रकाश शर्माले प्रवक्ता भएर जारी गरेको जे दृष्टिकोण थियो, महामन्त्री विश्वप्रकाश शर्मा अहिले पनि त्यो सामाजिक सञ्जालको विधेयकको सन्दर्भमा त्यही दृष्टिकोणमा प्रतिबद्ध छ,” उनले भने, “अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने ढङ्गले वा प्रेस काउन्सिलले हेर्ने या अन्य निकायले हेर्न सकिने कुरालाई फौजदारी मुद्दामा जाने ढङ्गले आउने गरी आएको जुन विधेयक छ, त्यसको हामीलाई बिल्कुलै समर्थन गर्न सक्दैनौं ।”

त्यो विधेयक निर्माण गर्ने क्रममा सरोकारवालासँग सल्लाह भएको छ भने पनि आफ्नो पार्टीले त्यो नमान्ने उनले बताए । त्यस्तै प्रधानमन्त्रीले पार्टीका सभापतिसँग सहमति गरेर विधेयक दर्ता गरेका हुन् भने पनि त्यसलाई आफू पार्टी कार्यालयमा गएर विरोध गर्ने बताए ।

“फेक आईडी बनाएर मान्छेमाथि गर्ने अनर्गल प्रकारको कुरा अभिव्यक्ति स्वतन्त्रता होइन । त्यो दुरुपयोग हो । त्यसलाई नियमन गर्ने कुरा जरुरी छ । नियमन गर्ने कुराको हदसम्म त्यसलाई कसरी जाने भन्ने मुख्य दुईटा दल सरकारमा भएको बेला सँगै बसेर सल्लाह गरेर समन्वय गरेर अरुलाई पनि विश्वासमा लिएर त्यसले असर नपर्ने कोणसम्म गएर अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने कोणसम्म गएर गर्न सकिन्थ्यो, सकिन्छ ।” उनले बताए ।