महोत्तरीका भूमिहीन जग्गाधनी प्रमाणपत्र पाउने आशमा

महोत्तरी- आफ्नो जग्गा भन्ने कानूनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र  पाउने आशमा छन्। जिल्लामा सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम थालिएको बताएपछि अबचाहिँ लालपुर्जा पाइने आश भूमिहीन सुकुमबासीमा जागेको हो।

‘आफ्नो भनेर पुस्तौँदेखि झुप्रोमा बसेका त छौँ, तर हामीसँग लालपुर्जा छैन’, भङ्गाहा-४ रामनगरको दलितबस्तीका जुगल सदा मुसहर भन्छन्, ‘अब गरिबलाई लालपुर्जा दिने रे भन्ने सुन्छौँ, त्यसो भए हामी पनि लालपुर्जावाला हुन्थ्यौँ।’

पछिल्लो पटक जिल्लामा भूमि समस्या समाधान आयोगका महोत्तरी अध्यक्ष पीताम्वर महतोले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिने तयारी थालिएको बताएपछि नयाँ आश जागेको हो।