काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस स्वतन्त्रतालाई असर गर्ने कुनै पनि कार्य सरकारले नगर्ने बताएका छन्।
काठमाडौँमा आज मध्याह्न राष्ट्रिय दैनिकको २३औँ वर्ष प्रवेशका अवसरमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा उनले देशमा लोकतन्त्र ल्याउन दलहरूको महत्वपूर्ण भूमिका भएकाले त्यसलाई असर गर्ने कुनै पनि कार्य सरकारबाट नहुनेमा विश्वस्त रहन आग्रह गरे।
“नेपालमा जातीय र सामाजिक सद्भाव अन्य देशका लागि उदाहरण हुन्। हाम्रो धर्म र सांस्कृतिक विविधता सुन्दर पक्ष हो तर अहिले सामाजिक सञ्जालमार्फत त्यसमा प्रहार भएको गुनासो सुनिनाका साथै प्रस्ट देख्न पाइन्छ,’ मन्त्री गुरुङले भने, ‘त्यसलाई नियमन गर्न सरकारले सामाजिक सञ्जाल विधेयक ल्याएको हो। त्यसले प्रेस स्वतन्त्रतालाई कुनै असर गर्दैन, यदि गर्ने रहेछ भने त्यसलाई हामी संशोधन र परिमार्जन गर्न तयार छौँ।”
“धार्मिक सहिष्णुता हाम्रो देशको अनुपम उदाहरण हो । हामीले सामाजिक सञ्जाललाई उचित नियमन गर्न सकेनौँ भने यसले हाम्रो धर्म, संस्कृतिसँगै एकतामा पनि असर पुर्याउन सक्छ। त्यसकारण हामीले लोकतान्त्रिक प्रक्रियाअनुसार विधेयक ल्याउँदैछौँ”, मन्त्री गुरुङले भने।
































