काठमाडौं : फिल्म ‘लाज शरणम्’ मा आफ्नो गेटअपमा देखिएका सीताराम कट्टेलको पात्रले चरित्रहत्या हुनसक्ने भन्दै मोहम्मद आफताब आलम अदालत गए पनि सेन्सर बोर्डले ‘त्यस्तो केही नभएको’ भन्दै निर्माताले पेस गरेकै फिल्म पास गर्यो।
बुधवार फिल्म रिलिज भएपछि दर्शकहरूले नाक खुम्च्याउँदै सबैभन्दा धेरै उही धुर्मुसको आलमको पात्रबारे नकारात्मक टिप्पणी गरे। अनावश्यक तन्काएर लामो बनाएको फिल्म भन्दा त ‘सक्किगोनि’ टेलिफिल्म नै राम्रो भन्ने प्रतिक्रिया आउन थालेपछि सेन्सर बोर्डले पास गरेका दृश्य आखिरमा निर्माताले नै काटे।
बुधवार हलमा रिलिज भएको भन्दा फिल्म १५ मिनेट छोटो भइसक्यो बिहीबारबाट। निर्माण टिम आफैँले हलमा रिलिज भइसकेको फिल्म पून सम्पादन गरेर १५ मिनेट छोट्टाउँदा अधिकांश धुर्मुसको आलम पात्रकै सिन कटौतीमा पर्यो।
सँगै रिलिज भएको मायावीको अवस्था ‘लाज शरणमा’ को भन्दा पनि महाविजोग छ। सामाजिक सञ्जालमा १२ गाउँको प्रमोशनताका झैँ मायावी बेस्ट भन्दै कमेन्ट गराइए पनि बिहीबारसम्म पनि हलमा त्यसको प्रभाव परेको देखिएन।
































