वीरगन्जमा चाडपर्व लक्षित सुपथ पसल

पर्सा । वीरगन्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्ज र साल्ट  ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगन्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगन्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले सोमबारदेखि  कात्तिक १० गतेसम्म वीरगन्जमा सहुलियत दरको पसल सञ्चालन गरिने जानकारी दिए । “दसैँदेखि छठ पर्वलाई लक्षित गरेर यहाँबाट बिक्री हुने नुनमा प्रतिकिलोग्राम रु दुई छुट दिने निर्णय गरेका छौँ”, उनले भने, “एक जना सर्वसाधारणले एक पटकमा छ किलोग्राम खरिद गर्न सक्नुहुनेछ ।” ग्राहकले प्रतिकिलोग्राम नुन रु २४ लाग्नेछ ।

त्यसैगरी सहुलियत छुट मूल्य पसल २०८२ सञ्चालनमा ल्याएको छ । कार्यालयले चाडपर्वको अवसरमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ । कार्यालयले स्टिम जिरा मसिनो चामल, अरुवा सोना मन्सुली चामल, अरुवा मोटा चामल र चिनीमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ । पच्चीस किलोग्राम जिरा मसिनो चामलको बोरालाई रु २१ सय, अरुवा सोना मन्सुली चामलप्रति २५ किलोग्रामको बोरालाई रु १४५० मूल्य तोकिएको छ ।