काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा आयोगको केन्द्रीय कार्यालय र मातहत कार्यालयमा दर्ता भएका २८ हजार ५५४ वटा र त्यसअघिको आवबाट जिम्मेवारी सरेर आएका आठ हजार ४७२ वटा गरी जम्मा ३७ हजार २६ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
तीमध्ये सबैभन्दा बढी अर्थात् १० हजार २४५ वटा (२७.६७ प्रतिशत) उजुरी आयोगको वेबसाइट प्रयोग गरी अनलाइनबाट प्राप्त भएका छन् । त्यसपछि क्रमशः लिखित निवेदन, इमेल, हुलाक सेवा, टेलिफोन, सामाजिक सञ्जाल लगायतका माध्यमहरूबाट बढी उजुरी प्राप्त भएका आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/८२ को ३५औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
यस अवधिमा दर्ता भएका कुल उजुरीमध्ये १९ हजार ५६१ वटा (५२.८३ प्रतिशत) उजुरी आयोगको केन्द्रीय कार्यालयमा छन् । आयोग मातहतका कार्यालयहरूमध्ये सबैभन्दा बढी तीन हजार ९७० वटा (१०.७२ प्रतिशत) उजुरी आयोगको कार्यालय बर्दिबासमा र सबैभन्दा कम अर्थात् ९०२ वटा (२.४४ प्रतिशत) उजुरी सम्पर्क कार्यालय नेपालगञ्जमा छन् ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आयोगले केन्द्रीय कार्यालय टंगाल काठमाडौंका साथै इटहरी, बर्दिवास, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुर र नेपालगञ्जस्थित मातहत कार्यालयहरूबाट कार्यसम्पादन गर्दै आएको छ । हाल आयोगमा कुल ९९० कर्मचारी दरबन्दी रहेको र आयोगबाट ३३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई अनुसन्धानसम्बन्धी अधिकार प्रत्यायोजन गरिएको छ ।






























