गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको छ। तिहारपछिको लामो बिदाका कारण बागलुङमा पर्यटकको सङ्ख्या यसपटक उल्लेख्य वृद्धि भएको हो।
तिहारलगत्तै बागलुङमा पर्यटकको आगमनले होटलहरू भरिएका छन् भने व्यवसायी उत्साहित भएका छन्। अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ छन्।
तिहारयता बागलुङका होटलमा पर्यटकको चाप बढेर व्यवस्थापनमा चुनौती बढेको छ। कतिपय पर्यटकलाई होटलको हलमा राखिएको छ। कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ भएका हुन्।
विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्या बढेको छ
दसैँअगाडि भएको जेनजी आन्दोलन र बाढीपहिरोको कारण होटलमा खासै बुकिङ नभएको अवस्था थियो। तर तिहारपछि भने पर्यटक बढेको शाक्यले जानकारी दिए। मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन्।
जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालिग्राम सङ्ग्रहालयलगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ।






























