फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर मृत्यु हुनेको सङ्ख्या बुधबार १०० भन्दा बढी पुगेको छ। फिलिपिन्समा हालै आएकोे आँधकिो प्रभाव सेबु प्रान्तमा सबैभन्दा बढी परेको छ।

सेबुमा मङ्गलबार आएको आँधीका कारण विभिन्न शहरहरूमा बाढी पसेको थियो । बाढीले कार, नदी किनारका झुपडी र ठूला ढुवानी कन्टेनरसमेत बगाएको थियो। सेबुका प्रवक्ता रोन रामोसले एएफपीलाई प्रान्तीय राजधानी सेबु शहरको मेट्रो क्षेत्रमा पर्ने लिलोनमा बाढीले डुबेका ३५ जनाको शव भेटिएको जानकारी दिए । यो डरलाग्दो समाचारसँगै सेबुमा पछिल्लो प्राकृतिक विपतका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ।

प्रान्तीय गभर्नर पामेला बारिकुआट्रोले मङ्गलबार स्थितिलाई ‘अकल्पनीय र विनाशकारी विपत्’ को अवस्था बताएका थिए । पछिल्लो समय फिलिपिन्समा मानवीय हस्तक्षेपका कारण भएका जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

आँधीका कारण बढी प्रभावित क्षेत्र सेबुलगायतका स्थानबाट आठ लाखभन्दा मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ।