काठमाडौँ- जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ।
सोमबार पार्टीका उपाध्यक्ष जयकान्त राउत, महासचिव चन्दन सिंह प्रधानमन्त्री सुशीला कार्कीलाई मधेश, थरूहट र स्वराज आन्दोलनसँग सम्बन्धित विगतका सबै राजनीतिक सम्झौता कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।
पार्टीका अध्यक्ष सिके राउत हस्तार गरेको ज्ञापनपत्रमा राज्य संयन्त्रमा देखिएको विभेद, संघीय संरचनामा भएको आक्रमण रोकी निर्णयात्मक कदम चाल्न सरकारको ध्यानकर्षण गराइएको छ।
ज्ञापनपत्रमा मधेशी समुदाय माथिको दमन रोक्न, किसानका समस्या समाधान गर्न, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न र अन्तरिम सरकारमा समावेशी प्रतिनिधित्व बढाउन माग गरिएको छ।
२०६३/६४ को मधेश आन्दोलनदेखि २०७२ को मधेश तथा थरूहट आन्दोलनसम्म सयौंले बलिदान दिएको तर राज्यले विभिन्न सम्झौताहरू कार्यान्वयन नभएको पार्टीको ठहर छ।
































