पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडी

१३ मंसिर, काठमाडौं । युएईमा डिसेम्बर ३ देखि १४ सम्म हुने आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीहरू सहभागी हुने भएका छन् ।

सातदोबाटो कभर्डहलमा सम्पन्न ‘टेलेन्ट हन्ट–२’ तथा विगतका उत्कृष्ट प्रदर्शनका आधारमा नेपाल बक्सिङ महासंघले ५ खेलाडी र ३ प्रशिक्षकसहित ८ जनाको टोली छनोट गरेको हो।

नेपालबाट ४८ किलोमा लाल प्रसाद उप्रेती, ५१ किलोमा फुङलाङ काम्बाङ, ५४ किलोमा चन्द्र बहादुर थापा, ६० किलोमा खगेन्द्र रोका मगर र ८० किलोमा दीपक श्रेष्ठ सहभागी हुँदैछन्। टोलीमा प्रमुख प्रशिक्षक रूपमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दीपक महर्जन र सुजित पुनमगर रहेका छन्।

नेपाली टोली शनिबार साँझ नेपाल एयरलाइन्समार्फत दुबई प्रस्थान गरिसकेको छ।

प्रतियोगितामा १२० देशका करिब ६०० खेलाडीले १३ तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। यसपटक आईबीएले पुरस्कार राशिमा वृद्धि गर्दै स्वर्ण विजेतालाई ३ लाख, रजत विजेतालाई १ लाख ७५ हजार, दुई कांस्य विजेतालाई ७५ हजार र पाँचौँ स्थानसम्म पुग्ने खेलाडीलाई १० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ।

मुख्य प्रशिक्षक प्रकाश थापामगरको नेतृत्वमा नेपाली टोली ‘मिशन २०२६’ तयारीमा पनि सक्रिय छ। नेपाली खेलाडीबाट राम्रो प्रदर्शन र सम्भावित पदकको आशा राख्दै टोली अनुगमन समितिका संयोजक तथा ओलम्पियन रामबहादुर गिरीले शुभकामना व्यक्त गरेका छन्।

नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले यो विश्वस्तरीय प्रतियोगिताले आगामी एशियन गेम्सका लागि खेलाडीको अनुभव र आत्मविश्वास बढाउने बताए ।