कुलमान र बब्लु निर्वाचन लड्न तम्तयार, अन्योलमा जगदीश र ओमप्रकाश

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा मागेको विषयले यतिबेला सञ्चार जगत तरंगित छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिन चाहने र दलमा आबद्धहरूलाई राजीनामा दिन भनेकी हुन् । राजनीतिमा लाग्नेलाई आफूले स्वतन्त्र छाडिदिने बताएसँगै चारजना मन्त्रीहरूबारे सार्वजनिक प्रश्न उठेको हो।

प्रधानमन्त्रीले नामै तोकेर मन्त्रीहरूको राजीनामा भने मागेकी होइनन् । तर राजनीतिमा सक्रिय हुन लागेका र निर्वाचनमा उठ्नेहरूलाई आफूले स्वतन्त्रता छाडिदिने सन्देश कार्कीले दिएकी हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकाससहित तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको राजनीतिक सक्रियताबारे सबैभन्दा प्रश्न उठेको छ।

घिसिङले यसअघि नै उज्यालो नेपाल पार्टी खोलेका थिए । तर उक्त पार्टीले केही महिना पनि नगुजार्दै कुलमानले राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय गराए । आफूसमेत उक्त पार्टीको दोस्रो वरीयतासहित उपसभापति बन्ने सहमति पत्रमा रातारात हस्ताक्षर गरे ।

अर्कातिर रास्वपा कार्यालयमै पुगेर घण्टी चुनाव चिह्न लिन तयार खेलकुदमन्त्री बब्लु गुप्ताको भूमिकाबारे पनि अहिले प्रश्न उठेको छ। त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि घण्टी लिएर ललितपुरबाट संसदीय चुनावमा उठ्न लागेको चर्चा छ । उता गृहमन्त्री ओमप्रकाश अर्यालमाथि पनि पनि राजनीतिक सक्रियतालाई लिएर प्रश्न उठेको छ।

खरेल र अर्यालले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनेबारे औपचारिक रुपमा मुख खोलेका छैनन् । अहिलेसम्म कुनै दलमा उनीहरूको आवद्धता पनि देखिएको छैन ।

मन्त्री अर्याल र खरेल दुवै रास्वपाबाट उम्मेदवार बन्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ । तर यो कुरा दुवैजना अहिले नै स्वीकार्न तयार छैनन् ।

सञ्चारमन्त्री खरेलले त आफू कुनै पार्टीको सदस्य नभएको बताउँदै आएका छन् । तर उनी अन्तरिम सरकारको मन्त्री हुनुअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए । उनले पछिल्ल समय कुनै दलको बैठकमा भाग नलिएको बताइरहेका छन् । उनले कुनै दलमा नलागेको अवस्थामा आफूलाई राजीनामा दिन लगाइएको भनेर बाहिर आएका समाचारबारे आश्चर्य प्रकट गरेका छन् । ‘कुलमान सरसँग मलाई पनि जोडेर चर्चा गरिएको छ। किन जोड्यौ भनेर उजुरी गर्न जाने कुरा पनि भएन ।’

खरेलका अनुसार सोमबारको क्याबिनेटमा प्रधानमन्त्री कार्कीले रमाइलो शैलीमा खुसी हुँदै ‘तपाईंहरू कोहीमध्ये राजनीतिमा जान चाहनुहुन्छ, पार्टीमा जोडिन चाहनुहुन्छ र चुनाव लड्नुहुन्छ भने कुनै अवरोध हुँदैन’ भनेको कुरालाई अतिरञ्जित गरिएको बताउँछन्।

‘प्रधानमन्त्रीज्यूले यदि यहाँहरूमध्ये कोही चुनावको तयारी गर्दै हुनुहुन्छ भने मैले स्वतन्त्र छोडिदिएको छु। कम्फर्टेबल महसुस गरेर तयारीमा लाग्नुभए हुन्छ भन्नुभएको साँचो हो’, खरेलले  भने, ‘नागरिक सरकारमा रहेकै कारण चुनाव लड्न पाइन्न भनेर निराश नहुनुहोला । यहाँहरू यदि चुनावको तयारी गर्दै हुनुहुन्छ भने स्वतन्त्र छोडिदिएको छु भन्नु भएको हो । प्रधानमन्त्रीज्यूले निर्वाचनमा लड्न चहानेलाई मबाट अवरोध हुँदैन भन्नुभएको हो।’

प्रधानमन्त्रीले नामै तोकेर कुनै पनि मन्त्रीलाई राजीनामा दिनु नभनेको उनले बताए । उनले व्यक्तिगत रुपमा कुनै मन्त्रीलाई भनेको भए त्यो आफूलाई थाहा नभएको पनि प्रष्टीकरण दिए ।