काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत स्वतन्त्र उम्मेदवार २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस क्षेत्रमा ‘पपुलर’ उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । वैकल्पिक शक्ति तथा नयाँ राजनीतिक दलका पपुलर उम्मेदवार पनि यो क्षेत्रमा प्रत्याशी छन् ।
लोडसेडिङ अन्त्य गर्न भूमिका निर्वाह गरेका तथा जेनजी आन्दोलनपछिको सरकारमा केही महिना ऊर्जामन्त्री रही राजीनामा दिएर उज्यालो नेपाल पार्टी गठन गरेका कुलमान घिसिङले पनि यस क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । कुलमान आफैँमा पपुलर नाम हो । नेपाल विद्युत् प्राधिकरणमा दुई कार्याकाल नेतृत्व गरेका कुलमान जनतामाझ लोकप्रिय छन् । उनी पहिलो पटक चुनावमा उम्मेदवार बनेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता हुन नसकेपछि उनी आफ्नै नेतृत्वको उज्यालो नेपाल पार्टीबाट चुनाव लड्न थालेका छन् । काठमाडौँ–३ मा जनजातिको बस्ती धेरै भएकाले उनीहरूको मत पाउने उनको अनुमान छ ।
उम्मेदवारी दर्तापछि कुलमानले काठमाडौँ–३ का जनताले आफूलाई अत्यधिक बहुमतले जिताउने दाबी गरे । उनले आफूले प्राधिकरणमा कार्यकारी निर्देशक र छोटो समय मन्त्री भएर गरेको कामलाई पनि जनताले मूल्याङ्कन गरेर मत दिने अपेक्षा रहेको बताए ।
कुलमानले भने, ‘काठमाडौँ–३ का जनताले परिवर्तन चाहेका छन् । जनताले चाहेको परिवर्तन उज्यालो नेपाल पार्टीले मात्रै गर्न सक्छ । त्यसैले मलाई जनताले मत दिने विश्वास छ ।’
उनले मुलुकलाई समृद्ध बनाउन आफू प्रतिबद्ध रहेको पनि बताए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ महानगरपालिका, नगर प्रहरी प्रमुख रहिसकेका राजुनाथ पाण्डे पनि काठमाडौँ–३ का अर्का पपुलर उम्मेदवार हुन् ।
उनी काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहको कोटाबाट टिकट पाउन सफल भएका हुन् । काठमाडौँ महानगरमा बालेन मेयर भएसँगै चर्चामा रहेका पाण्डे नगर प्रहरी प्रमुखबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका छन् ।
उम्मेदवारी दर्तापछि पाण्डेले आफू सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनपछि बालेनको नेतृत्वमा सरकार बन्ने भएकाले पनि आफूलाई जनताले मत दिने विश्वास रहेको बताए ।
उनले भने, ‘म काम गरेर देखाउने व्यक्ति हो । काठमाडौँ–३ का जनताले मत दिए यस क्षेत्रमा आवश्यक विकास गर्ने छु । रास्वपाको देशैभर लहर रहेकाले पनि अन्य दलका उम्मेदवारलाई सहज रूपमा पराजित गर्छु भन्ने विश्वास छ ।’
यद्यपि उनी काठमाडौँ–३ को स्थानीय नभएकाले जनताको विश्वास जित्न चुनौती देखिन्छ ।
यो क्षेत्रमा नेकपा एमालेबाट रामेश्वर फुयालले उम्मेदवारी दर्ता गराएका छन् ।
फुयाल काठमाडौँ क्षेत्र नम्बर ३ का स्थानीयसमेत हुन । उनी लामो समय प्रशासनिक क्षेत्र हुँदै राजनीतिक क्षेत्रमा होमिएका नेता हुन् । फुयाल राजनीतिक क्षेत्रमा वडा अध्यक्ष हुँदै संविधान सभा सदस्य तथा प्रदेश सांसद हुँदै प्रदेशमन्त्री समेत भइसकेका छन् ।
काठमाडौँको क्षेत्र नम्बर ३ बाट २०६४ सालको संविधान सभाको निर्वाचनमा पराजित भएका उनी २०७० सालको चुनावमा भने निर्वाचित भए ।
एमालेबाट २०७४ सालको प्रदेश सभाको निर्वाचनमा काठमाडौँ ३ को प्रदेशसभा (२) बाट फुयाल निर्वाचित भएका थिए । त्यही समयमा बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री समेत भइसकेका उनी अहिले प्रतिनिधि सभाका लागि उम्मेदवार भएका हुन् ।
उनले काठमाडौँ–३ को थप विकास र अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए । उनले आफू यो क्षेत्रको परिचित भएकाले जनताले आफूलाई मत दिएर जिताउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘मुलुकमा सुशासन र जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छु । जनताले मत दिए काठमाडौँ–३ को विकासमा समर्पित हुने छु ।’
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष रमेश अर्याललाई नेपाली कांग्रेसले काठमाडौँ–३ मा उम्मेदवार बनाएको छ । अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
काठमाडौँ–३ मा २०७९ को निर्वाचनमा एमालेका कृष्णबहादुर राईलाई हराउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले जितेका थिए । अहिले चालिसेलाई टिकट नदिएर कांग्रेसले पूर्ववडा अध्यक्ष अर्याललाई टिकट दिएको हो । राष्ट्रिय राजनीतिमा पपुलर नाम नभए पनि स्थानीय क्षेत्रमा भने अर्याल परिचित नाम हो ।
अर्यालले काठमाडौँ–३ का जनताले आफूलाई मत दिएर जिताउने विश्वास व्यक्त गरे । उनले काठमाडौँ–३ को विकासको मुहार फेर्ने प्रतिबद्धतासमेत जनाए ।
उनले भने, ‘जनताको अपेक्षा अनुसार काम गर्ने योजना छ । बदलिँदो अवस्थामा जनताको चाहनालाई पहिलो प्राथमिकतामा राखेर मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने छु ।’
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौँ क्षेत्र नं. ३ मा निरज लामालाई उम्मेदवार बनाएको छ । लामा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट बागमती प्रदेश सदस्य भइसकेका छन् । उनी काठमाडौँ महानगरपालिका वडा नं ६, बौद्धका स्थायी बासिन्दा हुन् । उनले अब युवाले मुलुकको नेतृत्व लिनुपर्ने बताउँदै आफूसँग युवा जोश र जाँगर रहेको दाबी गरे ।
लामाले भने, ‘काठमाडौँ–३ का जनताले मत परिवर्तन गर्न चाहेकाले युवालाई भोट दिनुहुन्छ । राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्था छ । त्यो पुस्तान्तरण जनताले गर्ने अपेक्षा छ ।’
काठमाडौँ–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा. सुन्दर सिंह बोहरा, जनता समाजवादी पार्टीबाट प्रणिलध्वज कार्की, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट मदन श्रेष्ठ, जनमत पार्टीबाट अबिन मेयाङ्बोले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, आम जनता पार्टीबाट रुपसागर देवी र मंगोल नेसनल अर्गनाइजेसनबाट कुल बहादुर लामाको उम्मेदवारी परेको छ । दलीय उम्मेदवार बाहेक यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको पनि उल्लेख्य उपस्थिति छ ।
































