नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदी किनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव आज सम्पन्न भएको छ । करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गर्दा रु २० करोड बढीको कारोबार भएको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटले जनाएको छ ।
जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका महासचिव एवं महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दिका कारण महोत्सवमा अपेक्षित कारोबार नभए पनि सफलतापूर्व सम्पन्न भएको दाबी गरे । “हामीले रु २५ करोडको कारोबार हुने अनुमान गरेका थियौँ”, उनले भने, “आर्थिक मन्दिका कारण करिब रु २० करोडको कारोबार भएको प्रारम्भिक तथ्याङ्क निकालेका छौँ ।” गैँडाकोटमा आयोजना भएको यस महोत्सवले जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेको पाण्डेले विश्वास व्यक्त गरे ।
गत पुस २५ देखि सुरु भएको महोत्सव आज १६औँ दिनमा समापन गरिएको हो । महोत्सवले जिल्लामा उत्पादन भएका कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सघाएको सङ्घका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल संयोजक छवि कँडेलले जानकारी दिए ।































