काठमाडौं- धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले फागुन २१ गते हुन लागेको चुनाव प्रचारप्रचार क्रममा बालबालिकाको प्रयोग गरेको आरोपमा आयोगमा उजुरी दर्ता भएको हो ।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था छ । तर उम्मेदवार साम्पाङ त्यसविरुद्ध गएको जिकिर गरिएको छ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति बनेको बताएका छन् । अब उक्त समितिले घटनाको अध्ययन गरी कारबाही अघि बढाउने उनले बताए ।
उक्त ऐनमा बालबालिकाको प्रयोग गरेको प्रमाणित भएमा एक लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ । अर्कातिर सम्बन्धित व्यक्तिको उम्मेदवारी पनि खारेज हुनसक्ने छ ।































