काठमाडौं – बलिउड सुपरस्टार प्रियंका चोपराले नेपाली सिनेमाका अनुभवी कलाकार सुनिल थापाको निधनप्रति दुख व्यक्त गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत भावुक श्रद्धाञ्जलि अर्पण थापालाई कहिल्यै नबिर्सने बताएकी छन् । प्रियंकाले ‘मेरी कोम’ फिल्मको एक स्मरणीय भिडियो साझा गर्दै सुनिल थापालाई केवल सह–कलाकार नभई आफ्नो जीवनका प्रेरक मार्गदर्शकका रूपमा सम्झिएकी छन् ।
‘तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ,’ भन्दै उनले लेखेकी छन्, ‘मलाई थाहा नहुँदा पनि तपाईंले मलाई परिवारझैं माया गर्नुभयो, कठिन दिनहरू पार गर्न सहारा दिनुभयो।’
अत्यन्तै कम उमेरमै संसारबाट विदा भएका थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रियंकाले उनको परिवार र आफन्तजनप्रति पनि गहिरो समवेदना प्रकट गरेकी छन्। ‘टुटेको बेला देखाउनुभएको तपाईंको दयालुता र साथका लागि हृदयदेखि धन्यवाद,’ उनले भनेकी छन् ।
सुनिल थापा र प्रियंका चोपरा सन् २०१४ मा प्रदर्शन भएको चर्चित फिल्म ‘मेरी कोम’ मा सहकार्य गरेका थिए, जहाँ थापाले प्रियंकाको प्रशिक्षकको भूमिका निभाएका थिए।































