काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ।
निगमले सोमबार विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आयात तथा बिक्री-वितरण नियमित भइरहेको हुँदा आमउपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको हो।
“एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आमउपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गर्दछ‚” निगमका प्रवक्ता मनोजकुमार ठाकुरले विज्ञप्तिमार्फत भनेका छन्।
निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फेब्रुअरीको ‘एलोकेसन’मा दुई हजार टन थप गरेको जनाएको छ। सोहीअनुसार दैनिक औसत ११० बुलेट नियमित रूपमा आयात भइरहेको छ।































