प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतक्ष्यमा जस्तै सानदार मत पाएको छ। कूल ६२ लाख ६५ हजार ६ सय ९८ मत गणना भइसक्दा रास्वपाले झण्डै आधा मत आफ्नो पोल्टामा पारेको हो।
रास्वपाले ३० लाख ६४ हजार ४ सय ३३ मत प्राप्त गरेको छ। यो कूल गणना भएको मतको करिब ४९ प्रतिशत हो। रास्वपाले पाएको यो मत दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको भन्दा झण्डै तीन गुणाले बढी हो। नेपाली कांग्रेसले हालसम्म १० लाख ३३ हजार ३ सय ६८ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ८ लाख ८६ हजार ३ सय ९७ मत ल्याएको छ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी ४ लाख ३२ हजार ९ सय ६४ मतका साथ चौथो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख १८ हजार २ सय ६८ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीले १ लाख ७४ हजार ६ सय २४ मत ल्याएको छ।
मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) ले ८४ हजार २ सय ७७ मत पाउँदा राष्ट्रिय परिवर्तन पार्टीले ७२ हजार २ सय ७७ मत प्राप्त गरेको छ।
नेपाल मजदुर किसान पार्टीले ३७ हजार ४५ र जनमत पार्टीले ३६ हजार ६ सय ७० मत प्राप्त गरेका छन्। राष्ट्रिय मुक्ति पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टीको एकल चिन्ह ‘जाँतो’ ले २९ हजार ५ सय ६५ मत पाएको छ। राष्ट्र निर्माण दल नेपाल र राष्ट्रिय जनमोर्चाले क्रमशः २० हजार र १९ हजारको हाराहारीमा मत बटुलेका छन्।
पछिल्लो नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले १५ हजार ६ सय ९० मत मात्रै प्राप्त गरेको छ भने नेपाल जनता संरक्षण पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले १३ हजार हाराहारी मत पाएका छन्। मंगोल नेशनल अर्गनाइजेसन र विभिन्न दलको एकल चिन्ह ‘बस’ ले १० हजारको आँकडा पार गरेका छन्।
बाँकी साना दलहरू भने उल्लेख्य मत पाएका छैनन् ।
































