मौसममा सुधार आएको छ

काठमाडौँ। मुलुकभर शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएको छ। योसँगै मौसममा पनि सुधार आएको छ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिइन्। उनले शुक्रबार र शनिबार बिहानको जस्तो वर्षा भने नहुने बताइन्।

पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली रहनेछ। अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको छ। यो पनि विस्तारै हट्ने उनको भनाइ छ। अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रि-मनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उनको भनाइ छ।

प्रिमनसुनका गतिविधि कायमै रहने‚ आइतबार पनि छिटफुट बदली

विभागको अभिलेखअनुसार अहिले कोसी, बागमती र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। विभागको पछिल्लो चौबीसघण्टे विवरणमा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको छ। रूपन्देहीमा ७५.२, मोरङमा ६३.८ र धनकुटामा ६३.२, कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ।