एक महिने फोटोग्राफी तालिम दिँदै चलचित्र विकास बोर्ड

काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि फोटो तथा भिडिओ पत्रकारिता सम्बन्धी एक महिने फोटोग्राफी तालिम सञ्चालन गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा यो तालिम आयोजना गर्न लागेको हो ।

‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसर पारेर सञ्चालन गर्न लागिएको तालिममा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले आगामी १० दिनभित्र आवेदन पेश गरिसक्नुपर्नेछ ।

तालिममा सहभागी हुनका लागि बोर्डले उपलब्ध गराएको आवेदन फारम भर्नुपर्नेछ । उक्त फारम बोर्डको आधिकारिक वेबसाइटबाट डाउनलोड गरी भरी बोर्डको कार्यालयमा बुझाउन वा बोर्डको आधिकारिक ईमेल fdbnepal@gmail.com मा पठाउन सकिने सूचनामा उल्लेख छ ।

प्राप्त निवेदनहरूमध्ये ‘पहिलो दर्ता हुन आएका’ आधारमा प्राथमिकता दिँदै नियमानुसार सहभागीहरूको छनोट गरिनेछ ।

तालिमसम्बन्धी थप जानकारी आवश्यक परेमा ह्वाट्सएप नम्बर ९८६८६६८५७६ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।