सीईओ पक्राउ एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली प्रक्रिया र सम्पत्ति लिलामी प्रकरणबारे सञ्चार माध्यममा आएका समाचारप्रति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोको मिति २०८३/०१/३० को प्रेस विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विषय सार्वजनिक भएपछि बैंकले औपचारिक स्पष्टीकरण जारी गरेको हो।

बैंकले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा सुरक्षित कारोबार ऐन, २०६३ अनुसार निक्षेपकर्ताको निक्षेपबाट प्रवाह भएको कर्जा असुली प्रक्रियालाई कानुनी दायराभित्र रही अघि बढाइएको स्पष्ट पारेको छ।

बैंकका अनुसार २०८२/०६/०३ मा प्रकाशित सूचना अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण तथा सामग्री लिलामी गरिएको थियो। उक्त लिलामीबाट प्राप्त करिब रु ४ अर्ब ६० करोडमध्ये रु ४ अर्ब २२ करोड सहवित्तीयकरण कर्जा भुक्तानीमा प्रयोग भएको र बाँकी करिब रु ३८ करोड बैंकको ‘अर्नेष्ट मनी अक्सन अकाउन्ट’ मा रहेको बैंकले जनाएको छ।

उक्त रकम सम्बन्धित ऋणीले तिर्न बाँकी बहाल, विद्युत महशुल लगायतका दायित्व भुक्तानीका लागि रोक्का राखिएको र आवश्यक प्रमाणसहित सम्बन्धित निकायबाट अनुरोध आएपछि मात्र क्रमिक रूपमा भुक्तानी गरिने बैंकको भनाइ छ।

अनुसन्धान प्रक्रियाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता तथा शेयरधनीको हितमा कुनै असर नपर्ने विश्वास दिलाउँदै बैंकले नियामक निकाय र अनुसन्धान अधिकारीहरूलाई निरन्तर सहयोग गरिरहेको पनि स्पष्ट पारेको छ।