काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाका विभिन्न शैक्षिक संस्थाबाट अध्ययन पूरा गरेका नेपाली विद्यार्थी (एलम्नाई) का लागि विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
दूतावासका अनुसार ‘नेपाल–अमेरिका एलम्नाई नेटवर्क’ मार्फत आपसी सम्बन्ध तथा सञ्जाललाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा दूतावासकी सांस्कृतिक मामिला अधिकारी एरिका अलेक्जेन्डरले नेपालको उद्यमशीलता, शिक्षा, नीति निर्माण तथा प्रविधि क्षेत्रमा नवप्रवर्तन, नेतृत्व र सहकार्यलाई अघि बढाउन अमेरिकी शैक्षिक संस्थाबाट अध्ययन गरेका विद्यार्थीहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।
उनले अमेरिकी उच्च शिक्षाको सकारात्मक पक्षलाई प्रतिनिधित्व गर्ने यी विद्यार्थीहरूले नेपालको शैक्षिक, सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याइरहेको उल्लेख गरिन् । साथै, उनीहरूले आफ्ना अनुभव, तार्किक सोच र नेतृत्व क्षमताको प्रभावकारी उपयोग गरिरहेको पनि बताइन् ।
अलेक्जेन्डरले एलम्नाईहरूको सक्रियताले अमेरिकी प्रणाली, मूल्यमान्यता र व्यावसायिक अभ्याससँग परिचित नेतृत्वको दायरा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
उनका अनुसार नेटवर्कमार्फत अमेरिकी कार्यक्रम तथा शैक्षिक संस्थाका पूर्वविद्यार्थीहरूले नयाँ पुस्तालाई मार्गदर्शन प्रदान गर्नुका साथै विभिन्न प्रदेशमा सञ्चालन हुने कार्यक्रमलाई सहयोग गर्दै संगठित समुदाय निर्माणमा भूमिका निर्वाह गरिरहेका छन् ।






























