काठमाडौं- कास्कीको पोखरास्थित थुनामा रहेका नेकपा एमालेनिकट युवा संघ नेपालका नेता शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ धरौटीमा रिहा भएका छन् ।
१७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुल गरेपछि उनी ५ लाख रूपैयाँ धरौटी बुझाएर केही दिनअघि रिहा भएका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले भोटेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।
उनलाई २०८० सालमा सूर्यदर्शन सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएको थियो । सहकारी ठगीमा जेल पुगेका उनलाई जिल्ला र उच्च अदालतले पनि थुनामा राख्ने आदेश दिएका थिए ।
ठगीको अभियोगमा कारागारमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पूर्वसदस्य महेन्द्र भोटेलाई जिल्ला अदालत कास्कीले थुनामा पठाएको थियो । त्यसपछि उक्त आदेश बदरको माग गर्दै उनीहरूले उच्चमा पुनरावलोकनको निवेदन दिएका थिए । तर उच्चले पनि जिल्लाकै आदेश सदर गरिदियो ।
उक्त सहकारी ठगीमा फरार रहेका मुख्य आरोपी गितेन्द्र बहादुर राई(जीबी) अहिले पनि फरार छन् । उक्त सहकारी ठगीको आरोप लागेका रवि लामिछाने अहिले रास्वपा सभापति छन् । जीबीका मुख्य सहयोगी रम्तेल पनि २०८० असोज २१ गतेदेखि जेलमा छन् ।































