काठमाडौं– पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ ।
महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
‘केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ’, उनले भने, ‘आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।’
उनले पानी पर्न सुरु गरेकाले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने बताए । उनले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
असार ९ गतेदेखि १५ गतेसम्म ६३ जनामा डेङ्गी देखिएको जनाउँदै डा दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सडक, घर छेउछाउका पानी जम्नसक्ने खल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुनेहुँदा सङ्क्रमण बढ्न सक्ने बताए ।
डेङ्गीबाट बच्न घर वरिपरिका खल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत उपाय अपनाउन सकिने उनले सुझाव दिए ।
डेङ्गीबाट बच्न:
घर वरिपरि पानी जम्न नदिनु। पानी राख्ने भाँडाहरू ढाकेर राख्नु र नियमित सफा गर्नु। पूरा बाहुला भएका लुगा लगाउनु। लामखुट्टे भगाउने लोसन वा स्प्रे प्रयोग गर्नु। झ्याल–ढोकामा जाली र आवश्यक परे मच्छरदानी प्रयोग गर्नु।
































