काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।
साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् ।
भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिए ।
कोषले आजदेखि सुरु गरेको सफाइ अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकताअनुसार विशेष सफाइ अभियान सञ्चालन गरिने छ ।
































