काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन तथा टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले समयसीमासहितको कार्य योजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको संयुक्त उपस्थितिमा बुधबार ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तर निकाय बैठकले यस्तो निर्देशन दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्य योजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका विभिन्न छ स्थानका प्रयोगविहीन तथा अव्यवस्थित तार हटाउने काम सम्पन्न गर्न निर्देशन दिइएको हो ।
साथै, तार व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले नेतृत्वदायी र नियामकीय भूमिका निर्वाह गर्ने तथा विद्युत् प्राधिकरणले आवश्यक सहजीकरण गर्ने, सबै सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्ने र सम्बन्धित निकायबीच नियमित समन्वय कायम गर्ने तथा कामको प्रगति समयसमयमा समीक्षा गर्दै नागरिकले छिटो परिणाम महसुस गर्ने गरी कार्यान्वयनमा जोड दिने निर्णयसमेत बैठकले गरेको छ ।
अव्यवस्थित तारका कारण नागरिकको सुरक्षामा जोखिम उत्पन्न हुनुका साथै शहरी सौन्दर्यसमेत बिग्रिएको अवस्थालाई तत्काल सुधार गर्न सरोकारवाला सबै निकायबीच समन्वय गरेर पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छवटा रुटका तार व्यवस्थापन गर्ने र प्रयोगविहीन तार हटाउन निर्देशन दिइएको हो । यसअघि दूरसञ्चार प्राधिकरणले गत जेठ २८ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र तार व्यवस्थापन गर्ने निर्देशन दिएको भए पनि त्यसमा अपेक्षित प्रगति हुन सकेको छैन ।
आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अव्यवस्थित तारको समस्या सबै निकायको साझा कमजोरीका कारण सिर्जना भएको उल्लेख गर्दै अब सबै निकायबीच समन्वयकारी भूमिकासहित समाधानमा केन्द्रित हुनुपर्ने बताए ।
अव्यवस्थित तार व्यवस्थापनका लागि दूरसञ्चार प्राधिकरणले गत जेठ २८ गते सार्वजनिक सूचना जारी गर्दै विभिन्न छवटा क्षेत्रमा १५ दिनभित्र चरणबद्ध रूपमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउन निर्देशन दिएको थियो । तर हालसम्म लक्ष्यअनुसार काम सम्पन्न हुन नसक्नुको कारण बारे पनि बैठकमा समीक्षा गरिएको छ ।
आइस्पानका अध्यक्ष सुधीर पराजुलीले धेरै ठाउँमा पोलमा रहेका तार कसको स्वामित्वका हुन् भन्ने नै स्पष्ट नरहेको उल्लेख गर्दै व्यवस्थित रूपमा पहिचान गर्ने काम आवश्यक रहेको बताए ।
आइस्पानले दूरसञ्चार पूर्वाधारसम्बन्धी नियमावली अझै बन्न बाँकी रहेकाले त्यसलाई छिटो अन्तिम रूप दिन आग्रह गरेको छ । निजी क्षेत्र आफैँले पूर्वाधार कम्पनी स्थापना गरेर वा सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको पनि संस्थाले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि सार्वजनिक गरेको सूचनाअनुसार अहिले त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छवटा रुटमा चरणबद्ध रूपमा तार व्यवस्थापन र प्रयोगविहीन तार हटाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।
प्राधिकरणले ती क्षेत्रमा कार्यरत सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आफ्ना तारमा संस्थाको स्पष्ट पहिचान खुल्ने गरी ट्याग राख्न निर्देशन दिएको छ ।































