काठमाडौं । सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी प्रधानमन्त्री सचिवालयले जनाएको छ।
खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन्। मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख जोगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।