काठमाडौं। ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका-३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि १ लाख ३ सय आर्थिक सहयोग गरिएको छ ।
धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो ।
उक्त रकम सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले पीडित बालककी आमा विमला खनाललाई हस्तान्तरण गरे । कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष शाक्यले प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनबाट सङ्कलन भएको रकम सहयोग गरिएको जानकारी दिए ।
यसअघि उक्त सम्पर्क समितिले गोरखाका राजु खनालको उपचारका लागि ५० हजार, निर्माण धमलाको उपचारका लागि १ लाख ८५ हजार, शर्मिला परियारको उपचारका लागि ७० हजार, चिनीमाया शाक्यको उपचारका लागि १ लाख, सुकुमाया श्रेष्ठको उपचारका लागि ६० हजार र विपना गिरीको उपचारका लागि २४ हजार सहयोग गरिसकेको छ ।