आज ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरी मनाइर्दै

काठमाडौं । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान मार्च ८ सन् १९१० बाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्न अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।

महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ ।

सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन् । पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो ।