बालिकालाई सामूहिक बलात्कार आरोप, काठमाडौंबाट ६ जना पक्राउ

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।

एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन्।

गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेज बहादुर दानी र जनक बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक–पटक बलात्कार गरेको पीडितको उजुरी छ। अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन्।

तीनै बालिकामाथि गत २१ माघमा मूलपानीस्थित लभ टू लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्को मुद्दा दर्ता भएको छ। जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन्। प्रहरी वृत्त बौद्धले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

त्यस्तै, २५ माघमा भण्डारखालनजिकै पनि बालिकामाथि पटक–पटक बलात्कार भएकोमा अर्को मुद्दा दर्ता भएको छ। जसमा रुकुम पश्चिमका खडक प्रसाद गिरी पक्राउ परेका छन्। यो घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुद्दा दायर गरेको हो।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश किशोर घिमिरेको इजलासले ६ जनालाईनै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।