राप्ति प्रादेशिक अस्पतालले सर्पले डसेका बिरामीको सफल उपचार गर्दै

ओछ्यानमा सुतिरहेको अवस्थामा सल्यान बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुर बस्दै आएकी एक बालिकालाई सर्पले डस्यो ।

तीन वर्षीया बालिका सिर्जना चन्दलाई सर्पले डसेपछि उनीहरूले नजिककै धामी भएको ठाउँमा लगे । धामीले तत्काल अस्पताल लैजान भनेपछि राप्ति अस्पताल तुलसीपुर ल्याइयो । आमा लक्ष्मी चन्दसँगै सुतिरहेको अवस्थामा सर्पले डसेपछि गम्भीर अवस्थाकी बालिकालाई अस्पताल ल्याउँदा उनको मुटुको धड्कन निकै कम चलिरहेको थियो ।

त्योबेला अक्सिजनको स्तर पनि ४० प्रतिशतभन्दा कम भइसकेको थियो । “अक्सिजनको लेभल ५० भन्दा कम हुँदा निकै जोखिम हुन्छ, तर ती बालिकाको अक्सिजनको लेभल ४० भन्दा कम भइसकेको थियो”, उनले भने, “बालिकाले श्वास पनि फेरिरहेको थिएन,  श्वास नै नफेरेपछि ‘एम्बु ब्याग’को सहायताले अक्सिजन दिइयो । अक्सिजन दिँदै ‘एन्टि स्नेक भ्यानम’ पनि दिएपछि ९ बजेतिर बिरामी बालिका होस्मा आइन् । अहिले उनको अवस्था सामान्य रहेको डा गुप्ताले बताए ।

यो त एउटा उदाहरण मात्रै हो । अहिलेसम्म अस्पतालमा समयमै उपचारका लागि आएका सर्पले डसेका बिरामीको सहज उपचार गरेर पठाएको अस्पतालका आपत्कालीन शाखा प्रमुख धनबहादुर केसीले बताए । यस महिनामा मात्रै दुई जना विषालु सर्पले डसेका बिरामी आएको उनले बताए । ती दुवैजनाको उपचार सफल भएको केसीले बताए ।