मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नियमअनुसार विद्युतको बक्यौता उठाइने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादका सन्दर्भमा कुनै मतभेद नरहेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन मंगलबार साँझबाट पुनः जोडेको छ । प्रधानमन्त्री ओलीले मंगलबार साँझदेखि नै उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिएको बताएका छन् ।
उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि प्राधिकरणले ती उद्योगमा लाइन काटेको थियो ।
प्राधिकरणको सञ्चालक समिति बैठकले विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।
तर, तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।