साउनमा माछामासु खानु हुन्न ?

काठमाडौं– साउनलाई  शाकाहारी महिना भनेर पनि चिनिन्छ। साउनमा विशेषगरी हिन्दु धर्मावलम्बी नारीहरूले हातमा मेहन्दी हरियो, पहेँलो चुरा र हरियो पहिरन लगाउने चलन छ ।

धार्मिक मान्यतासँग जोडेर हेर्दा साउनलाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिने गरिन्छ । त्यसैले यस महिना सनातन धर्मावलम्बीहरूले विशेष पूजाआरधाना गर्ने गर्छन् ।

यो साउने संक्रान्ति, बोलबम र भगवान् शिवको आराधना साथै उपवासको महिना हो । पूर्वीय दर्शनअनुसार साउन महिनामा भगवान् शिवको आराधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार, साउनको सोमबार ब्रत बस्ने र शिवलिङ्गमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ ।

धार्मिक मान्यताअनुसार यस महिनामा मदिरा र मासुको सेवनले मानिसको भविष्यमा नराम्रो असर पार्छ । धर्म मात्र होइन, विज्ञानले पनि साउनमा तामसिक पदार्थ अर्थात मदिरा, मासु, तेल, मसला आदिको प्रयोग कम गर्नुपर्ने मान्यता राखेको छ ।

साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ ।

आयुर्वेदका अनुसार साउनमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । मदिरा, मासु, तेल र मसालेदार खानेकुराको सेवनले हाम्रो पाचन प्रणालीलाई तनाव दिन्छ किनभने यी पचाउन गाह्रो हुन्छ । कमजोर पाचन शक्तिका कारण मांसाहारी खाना आन्द्रामा सड्न थाल्छ । यसले इम्युनिटीमा पनि नराम्रो असर गर्छ । एक हिसाबले नन-भेज र मसालेदार खानाले रोग निम्त्याउन सक्छ ।

मासुमंसमा जीवाणु फैलने, कुहिने, सड्ने हुन्छ । त्यहीकारण यसबेला मासु त्यति हितकर मानिँदैन । वर्षायाम भनेको धेरैजसो पानीमा पाइने जीवहरूको प्रजननको महिना हो ।

पहिलेको जमानामा माछालाई व्यावसायिक रूपमा छुट्टै पोखरीमा पाल्ने र खान प्रयोग गर्ने चलन थिएन । प्राकृतिक नदीहरू र खोलामा पाइने सीमित माछा प्रजनन महिनामा खाइदिए अर्को वर्ष संख्या घट्ने वा लोप हुने डर हुन्थ्यो ।

साउन पशुको स्वास्थ्यका लागि पनि राम्रो हुँदैन । जनावरहरूले खाने घाँस र झारसँगै तिनीहरूले अन्जानमा धेरै विषालु कीराहरू निल्छन् । जसका कारण पशुपंक्षी बिरामी पर्छन् । उनीहरूको शरीरमा संक्रमण फैलिन्छ । यस्ता जनावरको मासु मानव शरीरका लागि निकै हानिकारक साबित हुन्छ ।