ज्येष्ठ नागरिकका लागि निःशुल्क फिजियोथेरापी

मोरङ – उमेरले ७७ वर्ष पुगे विराटनगरका मणिकुमार अज्र्याल। २६ वर्षीय बैंकिङ जीवनपछि सामाजिक कार्यमा रुझेका अज्र्याल ज्येष्ठ नागरिकको स्वास्थ्य, हक, अधिकार, अध्ययनको विषयमा सक्रिय रहदै आएका छन्।

पैसाको ढेरीमा जीवन विताएका अज्र्याल लेख रचनामा पनि उक्तिकै रुचि राख्छन्। नेपाल बैंक लिमिटेडको जागीरबाट बाहिरिएपछि २०५० साल कार्तिकबाट उनले अगुवाई गर्दै नेपाल ग्रामीण समाज केन्द्र स्थापना गरे। जसको उद्धेश्य समाज सेवा र ग्रामीण क्षेत्रमा रहेका नागरिकको सशक्तीकरण रहेको थियो।

जसमा विशेष गरी चुल्होचौकामा सीमित महिलाको सशक्तिकरण रहेको थियो। उनले भने, ‘बैंकको राम्रो जागीरपछि फेरि पनि त्यसप्रकारको काम गर्न मन लागेन। ग्रामीण क्षेत्रमा गएर सामाजिक कार्यमा होमिन मन लाग्यो। त्यसै क्रममा सुनसरीको विभिन्न गाँउमा गएर महिला सशक्तिकरणको काम गरियो। महिलालाई बचतसंगै, आवश्यक ऋण र ब्याजको बारेमा बुझाउने काम गरियो।’

यसैबीच, केन्द्र सञ्चालनका लागि बैंकमा कार्यरत साथीहरुको हौसलाले केन्द्रको मातहतमा नेरुडे लघुवित्त विकास बैंक स्थापना भयो। २०६३ सालबाट कारोबार सुरु गरेको बंैकमा उनी कार्यकारी प्रमुखको जिम्मेवारीमा रहे। करिब १२ वर्ष नेरुडेमा जोडिएपछि उनी फेरि ज्येष्ठ नागरिकको अगुवाईमा लागे।

उनले भने, ‘मानिसले सीप तालिम मात्र दिएर वा लिएर मात्र हुदैन। सीप तालिम लिएपछि त्यसलाई मूर्त रुप दिन सक्दा मात्र सफल भइन्छ। हामीले ५० को दशकमा नागरिक सशक्तिकरणका क्रममा धेरैलाई मोटरसाइकल, सिलाई बुनाई, लगायतको सीप सिकायौं। ती मध्ये अझैपनि अधिकांशले ब्यवसाय गरि आएकाछन्। अहिले लघुवित्त विकास बैंकले नागरिक र ब्यवसायबीचको सहजीकरणलाई आत्मसात गरी अघि बढेको छ।’

बैंक र पैसाको कामबाट बाहिर रहने भन्दाभन्दै लघुवित्तको जिम्मेवारी पाएका अज्र्यालले २०७२ सालपछि ज्येष्ठ नागरिकका लागि काम गर्ने जमर्को थाले। तीन छोरी र श्रीमती गायत्री अज्र्यालको साथ पाएका उनले भने, ‘दुई छोरी विदेश र एक छोरी काठमाडौंमा छन्। घरमा जहान र म। सबैले सहयोग गरिरहेकाछन्। अब ज्येष्ठ नागरिकलाई सहजीकरण हुने काममा सक्रिय छु। त्यसैले पनि ३ वर्षदेखि आफ्नै भवनमा ज्येष्ठ नागरिकका लागि निःशुल्क फिजियोथेरापी सेवा दिदै आएका छौ।’

पछिल्लोसमय विरामी र उपचारका लागि फिजियोथेरापी आवश्यक हुदै गएको महसुस गरेका उनले ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन केन्द्रकै मातहतमा ब्रहमज्ञानी विश्रामालय सञ्चालनमा ल्याएकाछन्। एक फिजियोथेरापीष्ट, एक स्टाफ नर्स, सहयोगसहित सञ्चालनमा आएको फिजियोथेरापी सेवा लिनका लागि विराटनगरका विभिन्न स्थानबाट दैनिक १० जनासम्म विरामी सेवाका लागि पुग्ने गरेकाछन्। विराटनगर ९ स्थित विश्रामालयमा ज्येष्ठ नागरिकलाई सहजीकरण गराउन थेरापीसंगै साताको एकदिन विहीबार धार्मिक कार्यको आयोजना गरिन्छ।

उनी भन्छन्, ‘फिजियोथेरापीमा सेवा लिन विरामीको राम्रो उपस्थिती रहेको छ। जाडोको समयमा दैनिक १८ जनासम्म पुग्ने गरेको भएपनि गर्मीमा १० जनासम्म आउने गरेका छन्। ज्येष्ठ नागरिक यहाँ आएर फिजियो सेवासंगै धार्मिक कार्यमा सहभागिता र आपसी भलाकुसारीमा ब्यस्त हुने गरेकाछन्। थेरापीबाट धेरैले सुविधा पाएका छन्।’

‘विरामीले थेरापीको कोर्ष गर्न एकैदिनमा सक्दैनन्। यसका लागि समय लाग्छ। अस्पतालदेखि नीजि स्वास्थ्य केन्द्रमा थेपारी गराउँन सहज देखिदैन्। महंगो रकम तिर्नुपर्छ। त्यसमाथि ज्येष्ठ नागरिकको समस्या बुझ्न गाह्रो हुन्छ। यी कुरालाई ध्यानमा राखेर फिजियोथेरापीमा जोडबल गरेका हौ,’ उनले भने।

फिजियोथेरापी सञ्चालनका लागि विराटनगर महानगरसंगै उनकै साथीहरुले सरसहयोग जुटाउने गरेको बताएका अज्र्यालले फिजियोथेरापीसंगै ज्येष्ठ नागरिकका लागि पुस्तकालय र आवश्यक सामाग्री टर्च, जुत्ता, लठ्ठी जुटाउने तयारीमा रहेको बताए। उनले भने, ‘ज्येष्ठ नागरिकका लागि स्वास्थ्य मुख्यः कुरा हो।

त्यसमा पनि ढाड, मेरुदण्ड, हात, खुट्टा, लगायत शरीरका विभिन्न भागको उपचार निःशुल्कमा गर्दै आएकाछौ।विश्रामालयले समयसमयमा आँखादेखि विभिन्न स्वास्थ्य शिविर समेत गर्दै आएको छ। अब उनीहरुका लागि धार्मिक र आध्यात्मिक पुस्तकसहितको पुस्तकालय बनाउने प्रयत्नमा छु।’ फिजियोथेरापीका लागि आवश्यक सामाग्रीदेखि यन्त्र सबै राखिएको बताएका उनले ज्येष्ठ नागरिकको सामान्य स्वास्थ्य परिक्षण, उच्च रक्तचापदेखि तौल, ज्वरो, लगायतको परिक्षण गरिने बताए।

उनी भन्छन्, ‘ज्येष्ठ नागरिकलाई बृद्धाआश्रम खोलेर पाल्ने होइन। उनीहरुलाई आफ्नै घरभित्र रहने वातावरण बनाउने हो। उनीहरुलाई स्वस्थ्य बनाउने हो। घरेलु हिंसाबाट जोगिन सिकाउने हो। माया र स्नेहभावको वातावरण तयार पारिदिने हो। यत्तिमात्र गर्न सक्दा ज्येष्ठ नागरिकको जीवन सफल हुनेछ।’