महोत्तरी । साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ । साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन् ।
राखी पर्व आयो, अब मेरो भाइले खुसी दिनेछ, भाइलाई प्रेमको डोराले बाँध्ने छु, यसले सुखानुभूति मिल्नेछ। साउन शुक्लपक्ष, जसलाई राखीपक्ष पनि भनिन्छ । मिथिलामा अहिले यस्तै गीत सुनिन्छन्, गुञ्जिन्छन् । जसमा दाजुभाइको सौर्य बखान गरिएको हुन्छ ।
प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन राखी, साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेलीबीच एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै अहिले राखीको तयारीबारे हुने गर्छ । मिथिलामा यसपालि पर्सि सोमबार राखी पर्व मनाउने तयारी छ ।
मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै राखीको चहलपहल बढ्न थाल्छ । चिया पसल, पान पसलदेखि ठुल्ठूला व्यापारिक प्रतिष्ठान र चोकचोकमा राखी गीत गुञ्जँदाछन् । सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने यो पर्वको चहलपहल देखिँदो छ । पर्वको तयारीले अहिले मिथिला क्षेत्र राखीमय बनेको छ ।