नवलपुर — पूर्वी नवलपरासीमा २ हजार ५ सयभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा आबद्ध भएका छन् । अन्य बालीभन्दा तरकारी खेतीमा मुनाफा गर्न सकिने भएपछि यहाँका किसान तरकारी खेतीको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् ।
तरकारी जोन कार्यक्रम लागू भएपछि निर्वाहमुखी खेती गरिरहेका किसान पनि व्यावसायिक खेतीमा लागेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरणले तरकारी खेती विस्तार र व्यावसायीकरणका लागि तरकारी जोन, पकेट र ब्लक विकास कार्यक्रम सञ्चालन गरेपछि तरकारी खेतीको क्षेत्रफल विस्तार भएको छ ।
तरकारी उत्पादन हुने कावासोती नगरपालिकाका ७ वटा वडा, मध्यविन्दु नगरपालिकाको पाँचवटा, हुप्सेकोट गाउँपालिकाका चार वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । यहाँका तीन स्थानीय तहका समूह, सहकारी उद्यमी गरेर १ सय ४१ तरकारी जोनमा आबद्ध छन् भने दुई हजार पाँच सय १९ जना परिवार लाभान्वित भएका छन् । जसमा महिला एक हजार तीन सय १४ जना, पुरुष एक हजार दुई सय ५ रहेका छन् ।
कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले तरकारी बाली प्रवर्द्धन आयोजनाअन्तर्गत किसानले व्यावसायिक तरकारी उत्पादनमा लागेको बताए । व्यावसायिक तरकारी खेती गर्ने किसानलाई मल्चिङ प्लास्टिक, सिँचाइ पाइप, बाँस खरिद, क्रेट, स्प्रे टंकी, डिजिटल काँटा, हाते ट्र्याक्टर, पानी तान्ने मोटर, बीउविजन र विषादी लगायतका सामग्री कृषि ज्ञान केन्द्रले उपलब्ध गराउँदै आएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ नवलपरासी पूर्वका प्रमुख सुनिलकुमार सिहंले पाँच वर्षअघिसम्म जिल्लामा ५ सय १२ हेक्टरमा मात्र तरकरी खेती हुने गरेकामा अहिले यो क्षेत्र बढेर ७ सय ८० हेक्टर पुगेको बताए । तरकारी खेतीमा विशेष गरेर विदेशबाट फर्किएका युवाहरू बढी आबद्ध छन् ।